कांग्रेसभित्र अहिले कुनै विवाद छैन : विमलेन्द्र निधि

कांग्रेसभित्र अहिले कुनै विवाद छैन : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र अहिले कुनै विवाद वा मतभेद नरहेको बताएका छन्।

धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका निधिले कांग्रेसमा नयाँ जोश र ऊर्जा देखिएको उल्लेख गरे।

“अहिलेको अवस्था राम्रो छ, जनकपुरको फागुन ६ गतेको आमसभाबाट पनि तपाईंले थाहा पाउनु भयो होला, यति विशाल आमसभा भयो । धेरै राम्रो सन्देश त्यो आमसभाले दिएको छ। नेपाली कांग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको छ,” निधिले भने, “हामी बदलियौँ, देश बदल्छौँ र देश सम्हाल्छौँ भन्ने गगनकुमार थापा को युवा ऊर्जा देखिएको छ। यसलाई मैले सकारात्मक रूपमा लिएको छु। यसले राम्रो प्रभाव परेको छ।”

उनले देशभर कांग्रेसमा आन्तरिक एकता रहेको दाबी गर्दै उम्मेदवार छनोट प्रक्रिया र वर्तमान राजनीतिक अवस्थाले कांग्रेसलाई बलियो बनाएको बताए। “यी सबैका आधारमा म के भन्न सक्छु भने कांग्रेसले बहुमत प्राप्त गर्छ। बहुमतबाट नेपाली कांग्रेसको सरकार बन्छ भन्ने मेरो पूर्ण विश्वास छ,” उनले भने।

बाँकी रहेका आन्तरिक मतभेदलाई मत्थर पार्न आफैँले पहल गरिरहेको र त्यसमा सफलता पनि प्राप्त भएको उनले उल्लेख गरे।