

नुवाकोट । नुवाकोट जिल्लामा चुनावी सरगर्मी बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला नेता सुमन पाण्डेले पार्टी परित्याग गरेका छन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट-२ बाट उम्मेदवार बनेर १६,४७७ मतसहित दोस्रो स्थान हासिल गरेका पाण्डेले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै औपचारिक रूपमा बाहिरिएको घोषणा गरेका हुन्।
पाण्डेले पार्टी स्थापनाकालमा गरिएको युवालाई अवसर, नातावाद-आर्थिक प्रभावभन्दा माथि राजनीति भन्ने प्रतिबद्धता व्यवहारमा लागू नभएको आरोप लगाए। उनका अनुसार समर्पित कार्यकर्ताको मूल्याङ्कन नहुने, निर्णय प्रक्रिया अपारदर्शी हुने र विधि-विधानविपरीत गतिविधि बढ्ने प्रवृत्ति देखिएको छ।
उनले भने- “मैले जिल्लाका सबै वडामा संगठन विस्तार गरें, तर निरन्तर काम गर्नेहरूको मूल्याङ्कन भएन। अन्तिम समयमा टिकट वितरणमा पारदर्शिता देखिएन।”
पाण्डेले पार्टी सभापति रवि लामिछाने को नेतृत्वशैलीप्रति पनि प्रश्न उठाएका छन्। उनको टिप्पणी थियो- “पुराना दलको आलोचना गर्दै नयाँ संस्कारको कुरा गर्ने, तर व्यवहारमा उही शैली दोहोरिए फरक के रह्यो?”
उनका अनुसार जिल्लामा लामो समय काम गर्नेहरूलाई बेवास्ता गर्दै अन्तिम समयमा ‘खल्तीबाट उम्मेदवार चयन’ गर्ने प्रवृत्ति देखिएपछि पार्टीमा बसिरहनुको औचित्य नरहेको निष्कर्षमा पुगे।
राजनीतिसँगै पर्यटन क्षेत्रमा स्थापित व्यवसायीसमेत रहेका पाण्डे अन्तर्राष्ट्रिय संस्था Pacific Asia Travel Association (PATA) मुख्यालयका उपाध्यक्ष पनि हुन्। त्यसैले उनको निर्णयले राजनीतिक मात्र होइन, व्यवसायिक वृत्तमा समेत चासो बढाएको छ। पाण्डेको बहिर्गमनले रास्वपाभित्र आन्तरिक लोकतन्त्र, संगठनात्मक स्थायित्व र आगामी चुनावी रणनीतिबारे नयाँ बहस सुरु गराएको छ। नयाँ शक्तिका रूपमा उदाएको दलले आफ्नै सिद्धान्तअनुसार पारदर्शिता कायम राख्न सक्छ कि सक्दैन- अब सबैको नजर यही प्रश्नमा केन्द्रित देखिन्छ।