

झापा । झापा जिल्ला – प्रतिनिधिसभा निर्वाचनको माहोल तातिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा-५ बाट उम्मेदवारका रूपमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। सोमबार सार्वजनिक गरिएको वाचापत्रमा उनले “थिति बसाल्ने संकल्प” लाई मूल नारा बनाउँदै ९ प्रमुख प्रतिबद्धता अघि सारेका छन्।
उनले सार्वजनिक गरेका वाचा यसप्रकार छन्—
-पार्टीको ‘वाचापत्र २०८२’ कार्यान्वयनको नेतृत्व गर्ने।
-गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरणजस्ता आधारभूत अधिकार व्यवहारमै लागू गराउने।
-राष्ट्रहितविपरीत कुनै सम्झौता नगर्ने।
-सार्वजनिक सेवा चुस्तदुरुस्त बनाउन प्रभावकारी भूमिका खेल्ने।
-विकाससँगै प्रकृति संरक्षणलाई प्राथमिकता दिने।
-झापा–५ मा व्यवस्थित संसद् सचिवालय स्थापना गर्ने।
-राजनीतिलाई पेसा होइन, सेवाका रूपमा अघि बढाउने।
-मतदाताको विश्वासलाई काममा रूपान्तरण गर्ने।
-आफ्नो राजनीति सेवा, इमानदारिता र परिणाममा आधारित बनाउने।
बालेनको घोषणापत्रले परम्परागत राजनीतिक शैलीभन्दा फरक— प्रतिबद्धता केन्द्रित, परिणाममुखी र सेवा उन्मुख राजनीति —को सन्देश दिन खोजेको देखिन्छ। झापा–५ मा उनको उम्मेदवारी र वाचापत्रले चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको छ, अब मतदाताले यी वाचालाई कति विश्वास गर्छन् भन्ने कुराले नै अन्तिम परिणाम तय गर्नेछ।