४३ जिल्लामा सेनाले पुर्‍यायो निर्वाचन सामग्री

४३ जिल्लामा सेनाले पुर्‍यायो निर्वाचन सामग्री

काठमाडौं । देशभरका ४३ जिल्लामा नेपाली सेना ले निर्वाचन सामग्री पुर्‍याएको छ।

निर्वाचनपूर्वको तयारीअन्तर्गत सेनाले विभिन्न जिल्लामा सामग्री ढुवानी गरिरहेको छ। सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेत का अनुसार बाँकी जिल्लामा पनि सामग्री पठाउने क्रम जारी छ।

उनले हाल १२ जिल्लामा सामग्री लैजाने काम भइरहेको र त्यसपछि बाँकी २२ जिल्लामा सामग्री पुग्ने जानकारी दिए।

हिमाली जिल्लामा हवाईमार्फत ढुवानी

तीन हिमाली जिल्लामा भने हवाई साधनमार्फत सामग्री पुर्‍याइएको छ। हुम्ला, मुगुडोल्पा मा हवाईमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको हो।

डोल्पामा आइतबार सेनाको ‘स्काई ट्रक’ प्रयोग गरी मतपत्र, मतपेटिका, मसीका मार्कर, स्वस्तिक छाप, स्टिकर तथा रंगिन मतदाता नामावलीलगायत सामग्री पुर्‍याइएको बस्नेतले बताए।

अब मनाङमुस्ताङ मा पनि हवाई साधनमार्फत निर्वाचन सामग्री लैजाने तयारी रहेको सेनाले जनाएको छ।