रौतहट । गौरमा दुई समुदायबीच देखिएको द्वन्द्व समाधानका लागि सद्भाव र्याली निकालिने भएको छ।
दिनेश सागर भुसाल को आह्वानमा बसेको सर्वदलीय बैठकले धार्मिक–सामाजिक सद्भाव कायम गर्न र्याली आयोजना गर्ने निर्णय गरेको हो। भुसालका अनुसार सद्भाव र्याली सोमबार बिहान ७:३० बजे निकालिनेछ। नागरिक समाजका अगुवाहरूको सहभागितामा शान्ति र सद्भावको सन्देश दिने उद्देश्य राखिएको प्रशासनले जनाएको छ।
बैठकका प्रमुख निर्णयहरू:
-
गौर नगरपालिका–६ सबगढामा फागुन ७ गते राति सुरु भएको विवाद र त्यसपछि उग्र बनेको अवस्थाप्रति खेद प्रकट गर्दै शान्तिपूर्ण वातावरण कायम गर्न सबै सरोकारवाला पक्षले सार्वजनिक अपिल जारी गर्ने। हाल जारी कर्फ्यु यथावत् रहेको अवस्थामा सौहार्द कायम गर्न पहल गर्ने।
-
विवाद समाधानका लागि दुवै पक्षका स्थानीय भद्रभलादमी व्यक्तिहरूको उपस्थितिमा जिल्ला सुरक्षा समितिले औपचारिक/अनौपचारिक छलफल अघि बढाउने।
-
सामाजिक सञ्जालमा भ्रामक प्रचारप्रसार गरेर शान्ति भंग गर्न खोज्ने गतिविधिविरुद्ध आवश्यक कारबाही गर्न सुरक्षा निकायलाई सहयोग गर्ने।
-
घटनामा संलग्न व्यक्तिहरूको अनुसन्धान गरी दोषी देखिए कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गर्ने।
-
जिल्लाभर धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव कायम गर्न तथा शान्तिको सन्देश दिन सबगढामा नागरिक समाजको अगुवाइमा सद्भाव र्याली आयोजना गर्ने।
प्रशासनले सबै पक्षलाई संयम अपनाउँदै आपसी समझदारी र सहिष्णुताबाट समस्या समाधान गर्न आग्रह गरेको छ।





