निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : प्रमुख आयुक्त भण्डारी

निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोग नेपाल का कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन सम्बन्धी माहोल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

गोरखापत्र एकेडेमीले आयोजना गरेको निर्वाचन समाचार अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आयोगले निर्वाचन कार्यक्रम अघि बढाइरहेका बेला त्यसको वातावरण तयार गर्ने काम सञ्चारमाध्यमले गरिरहेको उल्लेख गरे।

संविधान संरक्षणका लागि निर्वाचन अपरिहार्य भएको बताउँदै उनले भने, “निर्वाचनको विकल्प निर्वाचन नै हो। यसलाई बिथोल्ने काम कसैबाट नहोस्।” कुनै व्यक्तिले कुण्ठा व्यक्त गर्दैमा निर्वाचन नबिथोलिने उनको भनाइ थियो।

उनले दलहरू गाउँ–गाउँसम्म पुगिसकेको अवस्थामा चुनावबारे भ्रम फैलाउन नहुने बताए। यसपटक निर्वाचनमा देखिएको उत्साह यसअघि कहिल्यै नदेखिएको दाबी गर्दै प्रमुख आयुक्त भण्डारीले निर्वाचन विरुद्ध कुनै गतिविधि नहोस् भनेर आचारसंहिता लागू गरिएको बताए।

कतिपय सञ्चारमाध्यमबाट आचारसंहिता उल्लंघन भएको उल्लेख गर्दै उनले मत सर्वेक्षण प्रकाशन तथा प्रसारण नगर्न पटक–पटक आग्रह गरिएको जानकारी दिए। केही प्रतिष्ठित मिडियाले मत सम्बन्धी सामग्री प्रस्तुत गरेर मतदातालाई भ्रमित पार्ने प्रयास गरेको आरोप पनि उनले लगाए।

आयोगले हालसम्म कारबाही नगरेकोलाई कमजोरीका रूपमा नलिन आग्रह गर्दै उनले दोहोरिएमा कानुनअनुसार कारबाही गरिने चेतावनी दिए।