

काठमाडाैं । टी–२० विश्वकपअन्तर्गत सुपर–८ चरणका खेलहरू आजबाट सुरु हुँदैछन्। पहिलो खेलमा पाकिस्तानले न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। कोलम्बोस्थित R. Premadasa Stadiumमा साँझ ७ बजे सुरु हुने खेलमा दुवै टोली जितसहित सुपर–८ यात्रा सुरु गर्ने लक्ष्यमा छन्। समूह चरणको अन्तिम खेलमा विजय निकाल्दै दुवै टिमले सुपर–८ मा स्थान बनाएका थिए।
समूह चरणमा दुवै टोलीले ४–४ खेल खेलेका थिए, जसमा ३ जित र १ हार बेहोरे। पाकिस्तानले नेदरल्यान्ड्स, अमेरिका र नामिबियालाई हराउँदा भारतसँग पराजित भयो। न्यूजिल्याण्डले अफगानिस्तान, यूएई र क्यानडालाई पराजित गर्दा दक्षिण अफ्रिकासँग हार बेहोर्नुपर्यो।
पाकिस्तान र न्यूजिल्याण्डबीच टी–२० अन्तर्राष्ट्रियमा कडा प्रतिस्पर्धा देखिँदै आएको छ। दुवैबीच ४९ खेल हुँदा पाकिस्तानले २४ र न्यूजिल्याण्डले २३ खेल जितेका छन् भने २ खेल नतिजाविहीन रहेका छन्। विश्वकपमा भने पाकिस्तान केही अगाडि देखिन्छ। विश्वकपका ७ भेटमा पाकिस्तानले ५ र न्यूजिल्याण्डले २ खेल जितेका छन्।
न्यूजिल्याण्डका लागि जारी प्रतियोगितामा टिम साइफर्ट शीर्ष रन–स्कोरर छन्। उनले ४ खेलमा १६७.९६ को स्ट्राइक रेटमा १७३ रन बनाएका छन्। बलिङतर्फ लक्की फर्गुसनले ३ खेलमा ९.६७ को इकोनोमीमा ४ विकेट लिँदै प्रभाव देखाएका छन्।
पाकिस्तानका सहिबजादा फरहानले नामिबियाविरुद्ध शतकसहित कुल २२० रन बनाउँदै टोलीका उत्कृष्ट ब्याटर तथा प्रतियोगिताका शीर्ष रन–स्कोरर बनेका छन्। बलिङतर्फ उस्मान तारिकले ३ खेलमा ८ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका छन्।
आर. प्रेमदासा स्टेडियमको पिच स्पिनरमैत्री देखिएको छ। यस विश्वकपमा यहाँ खेलेका ५ खेलमध्ये ४ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएको छ। लक्ष्य पछ्याउँदै जित्ने एक मात्र खेलमा जिम्बाब्वेले श्रीलंकालाई पराजित गरेको थियो।
समग्रमा यस मैदानमा ५३ टी–२० अन्तर्राष्ट्रिय खेल हुँदा २९ पटक लक्ष्य पछ्याउने टोली र २३ पटक पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् भने १ खेल नतिजाविहीन रहेको छ।
कोलम्बोमा शनिबार बादल र हावाको सम्भावना छ। वर्षाको सम्भावना ३०–४० प्रतिशत रहने अनुमान गरिएको छ भने अधिकतम तापक्रम ३०–३१ डिग्री सेल्सियस पुग्न सक्छ।
पाकिस्तान: सलमान आगा (कप्तान), सहिबजादा फरहान, साइम अयुब, बाबर आजम, उस्मान खान (विकेटकिपर), ख्वाजा नाफी, शादाब खान, मोहम्मद नवाज, फहीम अशरफ, सलमान मिर्जा र उस्मान तारिक।
न्यूजिल्याण्ड: फिन एलन, टिम साइफर्ट (विकेटकिपर), रचिन रविन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, डेरिल मिचेल (कप्तान), कोल म्याककोन्ची, जिमी निसम, म्याट हेनरी, काइल जेमिसन र ज्याकब डफी।