

काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
शुक्रबार बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले प्रसाईंलाई अदालतमा उपस्थित गराउन र पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको हो।
प्रसाईंको हकमा उमा प्रसाईंले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। पक्राउ हुनु अघि प्रसाईंले आफूलाई प्रहरीले धरपकड गरेको भन्दै काठमाडौँ प्रहरी परिसरलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
यसअघि न्यायाधीश नित्यानन्द पाण्डे को इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सोमबार उनलाई पक्राउ गरिएको थियो।
प्रसाईं माघ २३ गते पनि पक्राउ परेका थिए र हाजिर जमानीमा छुटेका थिए। त्यसबेला निर्वाचनसम्बन्धी अभिव्यक्तिलाई आधार बनाएर प्रहरीले बयान लिएर छाडेको थियो।
प्रहरीले प्रसाईंले फागुन २१ मा हुने निर्वाचन विथोल्ने अभियान सुरु गर्न सक्ने आशंकामा पटक–पटक नियन्त्रणमा लिइरहेको जनाएको छ। माघ ५ गते पनि पोखराबाट पक्राउ गरी बयान लिइसकेको थियो।