प्रतिनिधि सभा प्रत्यक्षतर्फ ३,४०६ उम्मेदवार, तर बैंक खाता खोल्ने केवल ६६७

प्रतिनिधि सभा प्रत्यक्षतर्फ ३,४०६ उम्मेदवार, तर बैंक खाता खोल्ने केवल ६६७

काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ ३,४०६ उम्मेदवार उम्मेदवार रहेका छन्, तर निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्ने संख्या जम्मा ६६७ पुगेको निर्वाचन आयोगले जनाएको छ। अझै २५३९ जना उम्मेदवारले खाता खोल्न बाँकी रहेको छ।

निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म सात राजनीतिक दल र ८६७ उम्मेदवारले बैंक खाता खोलेर आयोगलाई जानकारी गराइसकेका छन्।

उम्मेदवारले निर्वाचन प्रचारप्रसार खर्च पारदर्शी बनाउन, कानुनले तोकेको खर्च सीमा पालना गर्न र प्रभावकारी निगरानी सुनिश्चित गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था छ। यसलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २३ र निर्वाचन आचारसंहिता, दफा १६ ले समेत अनिवार्य गरेको छ।

स्वीकृत कार्यविधि अनुसार सबै राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले निर्वाचन प्रचारप्रसारको आम्दानी र खर्च छुट्टै बैंक खातामार्फत गर्नुपर्नेछ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल का अनुसार सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकमा दुई जना उम्मेदवारले खाता खोलेका छन्। केहीले ग्लोबल आइएमई बैंकमा, बाँकीले प्रभु बैंक र नेपाल बैंकमा खाता खोल्नुभएको छ।

निर्वाचन खर्चको सीमा निर्वाचन क्षेत्र अनुसार फरक–फरक तय गरिएको छ। काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्र (१, ३, ६, ७ र ८) का उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउनेछन्। १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २७ लाख, ६५ वटा क्षेत्रका उम्मेदवारले २९ लाख, ५२ वटा क्षेत्रका उम्मेदवारले ३१ लाख, र २६ वटा क्षेत्रका उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था छ।

उम्मेदवारले तोकेको सीमा भित्र खर्च गर्नु पर्नेछ र निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ।

समानुपातिकतर्फका उम्मेदवारको हकमा दलले बन्दसूचीमा राखेको संख्या अनुसार हरेक उम्मेदवार बराबर दुई लाख खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको छ।