१० दिनभित्र इरानबारे निर्णय: सम्झौता नभए ‘नराम्राे’ हुने ट्रम्पको चेतावनी

१० दिनभित्र इरानबारे निर्णय: सम्झौता नभए ‘नराम्राे’ हुने ट्रम्पको चेतावनी

काठमाडाैं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता गर्ने कि सैन्य कारबाहीतर्फ जाने भन्ने विषयमा ‘सायद आगामी १० दिनभित्र संसारले थाहा पाउने’ बताएका छन्।

बिबिसिका अनुसार वासिङ्टन डीसीमा आयोजित शान्ति बोर्डको उद्घाटन बैठकमा ट्रम्पले इरानसँग जारी वार्ताबारे प्रतिक्रिया दिँदै अर्थपूर्ण सम्झौतामा पुग्न नसके परिणाम गम्भीर हुन सक्ने चेतावनी दिएका हुन्। “हामीले अर्थपूर्ण सम्झौतामा पुग्नुपर्छ, नत्र नराम्रा कुरा हुनेछन्,” उनले भने।

हालका दिनहरूमा अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ, जसले सम्भावित रणनीतिक तयारीको संकेत गरेको विश्लेषण गरिएको छ।

यसैबीच स्विजरल्याडमा अमेरिका र इरानका अधिकारीहरूबीच भएको पछिल्लो वार्तामा केही प्रगति भएको रिपोर्ट सार्वजनिक भएको छ। कूटनीतिक तहमा संवाद जारी रहे पनि ठोस सहमति भने भइसकेको छैन।

उता अमेरिकाका डेमोक्र्याटिक सांसद तथा केही रिपब्लिकन नेताहरूले संसद्को स्वीकृतिबिना इरानविरुद्ध कुनै पनि सैन्य कारबाही नगर्न प्रशासनलाई सचेत गराएका छन्।

ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुसनरले इरानका प्रतिनिधिसँग ‘केही राम्रा बैठक’ गरेको दाबी गरेका छन्। तर उनले विगतको अनुभव स्मरण गर्दै इरानसँग अर्थपूर्ण सम्झौतामा पुग्न सहज नहुने पनि स्वीकार गरेका छन्।