

काठमाडौं । देशका केही स्थानमा आज वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण तीनवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपात हुन सक्ने बताइएको छ।
जल तथा मौसम विज्ञान विभाग का अनुसार बिहान तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ।
दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका बाँकी भूभाग तथा अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। राति तराईका थोरै स्थानमा तुँवालो रहनेछ। कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ।
विभागले विशेषगरी कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको स्पष्ट पारेको छ।