अनिल कुमार झा चुनावी मैदानमा: रौतहट १ मा जनलहर र विश्वासको माहोल

अनिल कुमार झा चुनावी मैदानमा: रौतहट १ मा जनलहर र विश्वासको माहोल

गौर । नेपाली कांग्रेसका नेता अनिल कुमार झा रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार बनेसँगै चुनावी माहोल थप तातेको छ। लामो समयदेखि मधेशका मुद्दा सशक्त रूपमा उठाउँदै आएका झा यसपटक विकास, प्रतिनिधित्व र सम्मानको एजेन्डासहित मैदानमा उत्रिएका छन्।

संविधानसभा सदस्य तथा सांसदका रूपमा अनुभव बटुलेका झाले संसद्मा रौतहटका शिक्षा, स्वास्थ्य, कृषि, सीमा समस्या, बाढी नियन्त्रण, नागरिकताको जटिलता तथा पूर्वाधार विकासका विषय प्रभावकारी ढंगले उठाएका थिए। संसद्मा स्पष्ट र तथ्यपूर्ण प्रस्तुति दिने नेताका रूपमा चिनिएका झा मधेशको आवाजलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने नेता मानिन्छन्।

घरदैलो अभियानलाई तीव्रता दिँदै झा अहिले गाउँगाउँ र टोलटोलमा पुगिरहेका छन्। स्थानीय युवावर्ग, किसान, व्यापारी तथा ज्येष्ठ नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनी विकासको साझा खाका तयार पारिरहेका छन्। रौतहटका मतदाताले उनलाई सरल, सहज र पहुँचयोग्य नेताका रूपमा लिने गरेका छन्।

पछिल्लो समय झाले रौतहटको सडक स्तरोन्नति, सिंचाइ व्यवस्थापन, कृषिमा आधुनिकीकरण, शिक्षा संस्थाको सुधार, स्वास्थ्य सेवा विस्तार तथा रोजगार सिर्जनामा केन्द्रित योजनाहरू अगाडि सारेका छन्। विशेष गरी सीमावर्ती क्षेत्रको व्यापारिक सम्भावना र सुरक्षा व्यवस्थालाई सन्तुलित रूपमा अघि बढाउने उनको प्रतिबद्धता उल्लेखनीय मानिएको छ।

स्थानीयवासीका अनुसार विगतमा प्रतिनिधित्व पाए पनि धेरै मुद्दा अपेक्षित रूपमा कार्यान्वयन हुन सकेनन्। त्यसैले यसपटक मतदाता परिणाममुखी नेतृत्वको खोजीमा छन्। झाले भाषणभन्दा कामलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्दै विकासलाई संस्थागत बनाउने अठोट दोहोर्‍याएका छन्।

रौतहट १ मा यसपटक विकास, अधिकार र सम्मान मुख्य एजेन्डा बनेको छ। निरन्तर जनसम्पर्क, स्पष्ट योजना र संसदीय अनुभवका कारण अनिल कुमार झाको उम्मेदवारी बलियो रूपमा देखिएको स्थानीयहरूको प्रतिक्रिया छ। जनताको नजिक रहेर काम गर्ने शैली र मधेशप्रतिको प्रतिबद्धताका कारण उनीप्रति जनसमर्थन क्रमशः बढ्दै गएको छ।