

काठमाडौं । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई धराशायी बनाउन सक्ने जोखिम रहेको भन्दै सबै पक्षलाई गम्भीर बन्न आग्रह गरेको छ।
आयोगले सामाजिक सञ्जालमार्फत गलत सूचना सम्प्रेषण नगर्न र नगराउन आम सञ्चारमाध्यम तथा सम्बन्धित पक्षसँग अनुरोध गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रयोग गरी सृजना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा नराख्न र निर्वाचन प्रक्रियालाई मर्यादित बनाउन आग्रह गर्नुभएको छ।
प्रविधिको तीव्र विकाससँगै एआईमार्फत तयार गरिएका भ्रामक सामग्री सामाजिक सञ्जालमा फैलिन सक्ने भएकाले त्यस्ता गतिविधि रोक्न सबैको सहयोग आवश्यक रहेको आयोगले जनाएको छ।
आयोगका अनुसार प्रविधिले सूचना प्रवाहमा सहजता ल्याए पनि यसको दुरुपयोगले निर्वाचनको निष्पक्षतामै गम्भीर असर पार्न सक्ने खतरा रहेकाले यसतर्फ सजग रहन ध्यानाकर्षण गराइएको हो।
साथै, निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नु सबै सरोकारवालाको दायित्व भएको आयोगको धारणा छ।