श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७४ साल पौष १७ गते सोमबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतु अन्तर्गत पौष शुक्ल चतुर्दशी तिथि विहान ११।१३ बजेसम्म रहने छ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा रहेका छन् भने वृहस्पति तुला राशिमा रहेका छन् । मृगशिरा नक्षत्र दिवा ३।७ बजेसम्म रहने छ । यसैगरी आज शुक्ल योग, भद्रा करण रहेको छ । सूर्योदय विहान ६।५६ मा छ भने सूर्यास्त बेलुका ५।१८ मा हुने छ । आज चन्द्रमा मिथुन राशिमा रहेका छन् ।
आज पूर्णिमको व्रत लिने दिन हो । यसैगरी आजैबाट स्वस्थानीव्रत कथा आरम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णमासम्म श्रीस्वस्थानीको व्रतधारण गरिन्छ । महिनादिनसम्म नित्य स्नान गरी चोखो भई सात्विक आहार गरी हरेक दिन स्वस्थानीको व्रत कथा श्रवण गरेर यो व्रत बस्ने गरिन्छ । स्वस्थानी व्रत धारण गर्नाले अभीष्ट मनोकामना पूरा हुने कुरा स्कन्धपुराणमा बताइएको छ । श्रीस्वास्थनी व्रतकथामा सृष्टिको उत्पत्ति, स्थिति र लयको वर्णन का साथै भगवान् शिव सति पार्वतीको कथा रहेको छ । श्रीस्वस्थानी व्रतकथा श्रवण गर्नाले पनि अनन्त पुण्य प्राप्त हुने कुरा पुराणमा उल्लेख पाइन्छ ।