

मुम्बई ।आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेको छ ।
कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।
नेपाल र स्कटल्यान्ड दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन्। दुवै टोली जितका साथ प्रतियोगिता सकाउने लक्ष्यमा मैदान उत्रिएका छन्। स्कटल्यान्डले इटलीलाई पराजित गरिसकेको छ भने नेपाल अझै जितविहीन छ।
नेपाली टोलीले आजको खेलका लागि एक परिवर्तन गरेको छ। करण केसीको स्थानमा सन्दीप जोरा प्लेइङ–११ मा परेका छन्। उनले यसअघि सन् २०२४ को संस्करणमा पनि खेलेका थिए।
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, नन्दन यादव, सोमपाल कामी, सन्दीप लामिछाने, गुल्शन झा, लोकेश बम
२४ वर्षीय सन्दीप जोरा दायाँहाते ब्याटर हुन् र मिडल अर्डरमा खेल्ने गर्छन्। उनले सन् २०१९ मा दुबईमा यूएईविरुद्धको खेलमार्फत नेपालका लागि डेब्यू गरेका थिए।
जोराले हालसम्म नेपालका लागि ३८ टी–२० अन्तर्राष्ट्रिय खेलमा चार अर्धशतकसहित ४८९ रन बनाएका छन्। गत संस्करणमा उनले एक खेल खेल्दै १ रन बनाएका थिए।