जनकपुरको आमसभामा १ लाखभन्दा बढी समर्थक उतार्ने कांग्रेसको दाबी

जनकपुरको आमसभामा १ लाखभन्दा बढी समर्थक उतार्ने कांग्रेसको दाबी

काठमाडाैं । नेपाली कांग्रेसले मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजना गर्न लागेको आमसभामा १ लाखभन्दा बढी समर्थक उतार्ने दाबी गरेको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले आठै जिल्लाबाट व्यापक सहभागिता रहने बताए। उनका अनुसार आमसभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्नेछन्।

“हामीले प्रत्येक जिल्लामा संगठनात्मक संरचना सक्रिय पारेर कम्तीमा एक लाख जनसहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेका छौँ,” यादवले भने, “यो सभा मधेसमा कांग्रेसको शक्ति प्रदर्शन मात्र होइन, आगामी फागुन २१ को निर्वाचनको आधार तयार गर्ने ऐतिहासिक कार्यक्रम हुनेछ।”

मधेस प्रदेशमा कांग्रेसका कुनै बागी उम्मेदवार नरहेको दाबी गर्दै उनले पार्टी एकताबद्ध र सुदृढ अवस्थामा रहेको बताए। “हामी एकढिक्का भएर चुनावमा होमिएका छौँ। पार्टीभित्र असन्तुष्टि वा बागी उम्मेदवारीको अवस्था छैन,” उनले भने।

जनकपुरधामको तिरुहुतिया गाछीमा हुने आमसभामा कांग्रेसले प्रतीज्ञापत्र पनि सार्वजनिक गर्ने जनाएको छ। उक्त प्रतीज्ञापत्रमा मधेसको विकास, रोजगारी, कृषि आधुनिकीकरण, शिक्षा, स्वास्थ्य सुधार, पूर्वाधार विस्तार तथा सुशासनका एजेन्डालाई प्राथमिकतामा राखिने यादवले जानकारी दिए।

यसअघि माघ १६ गते जनकपुरमा आयोजित मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रका उम्मेदवारको भेलामा सहभागी नभएका कांग्रेस नेता विमलेन्द्र निधि पनि भोलि हुने आमसभामा सहभागी हुने उनका सचिवालयले जनाएको छ।