टी-२० विश्वकपमा वेस्ट इन्डिजसामू नेपालले १३४ रनको लक्ष्य

टी-२० विश्वकपमा वेस्ट इन्डिजसामू नेपालले १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले दुई पटकको विश्वविजेता वेस्ट इन्डिजसामू १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मुम्बईस्थित वान्खेडे क्रिकेट रंगशाला मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १३३ रन बनायो। कमजोर सुरुआतका बाबजुद उपकप्तान दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी बीचको अर्धशतकीय साझेदारीले नेपाललाई सम्मानजनक योगफलतर्फ पुर्‍यायो।

दीपेन्द्रको अर्धशतक

दीपेन्द्रले सर्वाधिक ५८ रन बनाए। ४७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे। उनले १९औं ओभरको चौथो बलमा शामर जोसेफलाई छक्का प्रहार गर्दै ४४ बलमा अर्धशतक पूरा गरेका थिए।

टी–२० विश्वकपमा नेपालका लागि अर्धशतक बनाउने उनी दोस्रो खेलाडी हुन्। यसअघि सन् २०१४ मा सुबास खकुरेल ले हङकङविरुद्ध अर्धशतक प्रहार गरेका थिए।

महत्वपूर्ण साझेदारी

दीपेन्द्र र सोमपालबीच सातौं विकेटका लागि ५४ रनको साझेदारी भयो, जुन नेपालको इनिङ्सकै उच्च साझेदारी रह्यो। सोमपाल १५ बलमा ४ चौकासहित अविजित २६ रनमा रहे।

छैटौं विकेटका लागि दीपेन्द्रले गुल्सन झा सँग २७ रनको साझेदारी गरेका थिए।

लोकेश बमले १३, ओपनर आसिफ शेखले ११ तथा गुल्सन झाले ११ रन जोडे। अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।

पावर प्लेमा कमजोर प्रदर्शन

नेपालले ६ ओभरको पावर प्लेमा ३ विकेट गुमाएर २२ रन मात्र बनायो, जुन टी–२० विश्वकपमा नेपालको सबैभन्दा कम पावर प्ले स्कोर हो।

कुशल भुर्तेल पहिलो ओभरमै अकिल होसेनबाट बोल्ड भए। त्यसपछि रोहित पौडेल ५, आसिफ ११, आरिफ शेख २ र लोकेश ११ रनमा आउट हुँदा नेपाल ४६ रनमै ५ विकेट गुमाएर दबाबमा थियो।

बलिङमा वेस्ट इन्डिज

वेस्ट इन्डिजका ज्यासन होल्डरले ३ विकेट लिए भने अकिल होसेन, म्याथ्यु फोर्डे, शामर जोसेफ र रोस्टन चेसले समान १–१ विकेट लिए।

सोमपालको कीर्तिमान

यसै खेलबाट सोमपाल नेपालका लागि तीन टी–२० विश्वकप खेल्ने पहिलो र एकमात्र खेलाडी बने। उनले सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपदेखि निरन्तर तीन संस्करण खेलेका छन्। टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक ७ खेल खेल्ने कीर्तिमान पनि उनकै नाममा छ।

समूह ‘सी’ मा यसअघि इंग्ल्याण्ड र इटलीसँग पराजित भइसकेको नेपाल सुपर एटको सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाबमा छ। पराजित भएमा अन्तिम खेलअघि नै नेपाल सुपर एटको होडबाट बाहिरिनेछ।