

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को साउन–माघ (७ महिना) अवधिमा सरकारले विकास (पूँजीगत) बजेटको १५.२६ प्रतिशत मात्र खर्च गर्न सकेको छ।
महालेखा नियन्त्रक कार्यालय का अनुसार यस वर्ष ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ पूँजीगत बजेट खर्च गर्ने लक्ष्य राखिएकोमा माघसम्म ६३ अर्ब ७२ करोड रुपैयाँ मात्र खर्च भएको छ।
सरकारले ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ चालु खर्च गर्ने लक्ष्य राखेकोमा माघसम्म ५ खर्ब ६२ अर्ब ३७ करोड खर्च भएको छ, जुन लक्ष्यको ४७.६२ प्रतिशत हो।
वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड खर्च गर्ने लक्ष्य रहेकामा १ खर्ब ७५ अर्ब २७ करोड रुपैयाँ खर्च भइसकेको छ, जुन ४६.७१ प्रतिशत हो।
समग्रमा सात महिनामा कुल बजेट खर्च ८ खर्ब १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ, जुन वार्षिक लक्ष्यको ४०.८ प्रतिशत बराबर हो।
माघसम्म सरकारले राजस्व, वैदेशिक अनुदान तथा अन्य स्रोतबाट ६ खर्ब ८२ अर्ब १६ करोड रुपैयाँ आम्दानी गरेको छ। तर खर्च ८ खर्ब १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।
यसरी आम्दानी र खर्चबीच १ खर्ब १९ अर्ब २० करोड रुपैयाँ बराबरको घाटा देखिएको छ। उक्त घाटा पूर्ति गर्न सरकारले आन्तरिक तथा बाह्य ऋणमार्फत बजेट व्यवस्थापन गरिरहेको जनाएको छ।