काठमाडौं, ३० असोज । गोरखाबाट ल्याइएको दडादशैंको फूलपाती पञ्चबाजा र सैनिक वैण्ड बाजासहित विशेष उत्सवका साथ हर्षबढाईं गर्दै हनुमानढोका दरबारमा भित्र्याइएको छ ।
गोरखा दरबारबाट विहानै फूलपाती पठाइएको थियो । दरबारबाट बोकेर ल्याइएको फूलपाती सतीपिपलको फूलपाती चौताराबाट जिपमा राखेर काठमाडौं पठाइएको थियो ।
उखु, अदुवा, तथा केराको बोट, धानको वाला, वेलपत्र, दारिम, हलेदो, अशोकको पातसहित फलफूल र अन्य पालुवासमेतको फूलपातीलाई धादिङको जीवनपुरबाट बोकेर जमल ल्याइएको थियो । फूलपातीलाई डोलीमा राखेर गुरुजुको पल्टन, पञ्चेबाजा, मंगलसेनी, कलसेनी, हवलाको सामान (चन्द्र, सूर्य, घण्टा र चामर बोकेको टोली), ब्याण्डबाजा, समरजंगको टोली र नेपाली सेनाको पल्टनले हनुमान ढोकादरबार पुर्याएको थियो । हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।
मूलचोक पुगेपछि फूलपातीलाई कुभिन्डो र बोका बलिसहित पूजा गरिसकेपछि दशैंघरमा राखिएको थियो । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर भवानीको प्रसादका रुपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुन्छ । नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटे पिङले दशैँको रौनकलाई अझ बढाउँछ ।