

काठमाडौं । बंगलादेश मा ३५ वर्षपछि कुनै पुरुष प्रधानमन्त्री बन्ने निश्चित भएको छ। सन् १९८८ मा काजी जाफर अहमद प्रधानमन्त्री बनेपछि लामो समयसम्म महिलाहरूको नेतृत्व कायम थियो।
सन् १९९१ देखि २०२४ सम्म बंगलादेशको राजनीतिमा पूर्वप्रधानमन्त्री शेख हसिना र खालिदा जिया को प्रभुत्व रह्यो। यी दुई नेतृले पटक–पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
शेख हसिनाले देश छाडेकी र खालिदा जियाको निधन भएपछि पहिलोपटक बिहीबार आमनिर्वाचन सम्पन्न भएको हो। यस निर्वाचनमा शेख हसिनाको पार्टी अवामी लिग लाई सहभागिताबाट वञ्चित गरिएको थियो। त्यहाँको निर्वाचन आयोगले सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा भएको हिंसामा आवामी लिगको भूमिका रहेको ठहर गर्दै यस्तो निर्णय गरेको जनाएको थियो।
निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले निर्णायक विजय हासिल गरेपछि पार्टी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ।
यसैबीच, नरेन्द्र मोदी ले संसदीय निर्वाचनमा बीएनपीलाई ‘निर्णायक’ विजय दिलाएकामा तारिक रहमानलाई बधाई दिएका छन्। त्यसैगरी बंगलादेशका लागि अमेरिकी राजदूत ब्रेन्ट क्रिस्टेन्सेन ले पनि सामाजिक सञ्जालमार्फत बीएनपी र तारिक रहमानलाई ऐतिहासिक विजयका लागि बधाई व्यक्त गरेका छन्।
क्रिस्टेन्सेनले लेखेका छन्, “बंगलादेशका जनतालाई सफल निर्वाचनका लागि र बंगलादेश नेसनलिस्ट पार्टी तथा तारिक रहमानलाई तपाईंहरूको ऐतिहासिक विजयका लागि बधाई।”