पूर्वमुख्यमन्त्री शर्मा नेकपा कर्णाली संसदीय दलबाट निष्कासित

पूर्वमुख्यमन्त्री शर्मा नेकपा कर्णाली संसदीय दलबाट निष्कासित

सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य राजकुमार शर्मालाई पार्टी सदस्यताबाट निष्कासन गरेको छ।

शर्मालाई निष्कासन गरिएको औपचारिक पत्र संसदीय दलले प्रदेशसभा सचिवालयमा पठाएको जनाएको छ। नेकपा कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले दलको नीति, सिद्धान्त, उद्देश्य र आचरणविपरीत गतिविधि गरेको आरोप लगाउँदै कारबाही गरिएको जानकारी दिए।

उनका अनुसार नेकपा केन्द्रीय कार्यालयको २०८२ असोज १६ गतेको पत्र तथा केन्द्रीय समितिको निर्णयका आधारमा कर्णाली प्रदेश संसदीय दलको बैठकले शर्मालाई दलको सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको हो।

‘उहाँले जानी–जानी दलको नीति, सिद्धान्त, उद्देश्य र आचरणविपरीत गतिविधि गर्नुभएकोले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३ को उपदफा २ र ४ बमोजिम हाम्रो दलको सदस्यबाट निष्कासन गरिएको हो,’ प्रमुख सचेतक जिसीले भने।

दलबाट निष्कासन भएसँगै शर्माले प्रदेशसभा सदस्यका रूपमा पाउँदै आएका दलसम्बन्धी सुविधा र अधिकार गुमाएको नेकपाले जनाएको छ। साथै, प्रदेशसभा सचिवालयलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन अनुरोध गरिएको छ।

शर्मा गत प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट रुकुमपश्चिमबाट निर्वाचित भएका थिए। उनी दलका नेता हुँदै कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत बनेका थिए। पछि नेकपा माओवादी केन्द्रले अन्य दलहरूसँग एकता गरी नेकपा गठन गरेपछि शर्मा जनार्दन शर्माले गठन गरेको नयाँ दल प्रगतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध भएका थिए। हाल उनी उक्त पार्टीको कर्णाली प्रदेश इन्चार्जका रूपमा सक्रिय छन्।