

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार गठनपछि रोक्का गरिएका कतिपय आयोजनाको रकम फुकुवा भइसकेको बताएका छन्।
बुधबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले विशेष परिस्थितिका कारण कम प्राथमिकतामा परेका तथा साना–टुक्रे आयोजनाको रकम रोक्का गरिएको स्पष्ट पारे। अहिले भने प्राथमिकताका आधारमा धेरै आयोजनाको बजेट फुकुवा भई काम पुनः सुरु हुने चरणमा पुगेको उनले बताए।
आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, सार्वजनिक सेवाको पुनः सञ्चालन र निर्वाचनका लागि आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने अवस्थाका कारण केही आयोजनाको दायित्व सिर्जना भएर पनि भुक्तानी गर्न नसकिएको उनले जानकारी दिए।
मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयअनुसार आयोजनाहरूको पुनः प्राथमिकीकरण गरिएको र अनुत्पादक खर्च कटौती गर्दै मितव्ययिता अपनाइएको उनले बताए। तयारी नपुगेका, खरिद प्रक्रियामा नगएका तथा अर्थतन्त्रलाई उल्लेख्य लाभ नदिने आयोजनाको बजेट स्थगन गरिएको उनको भनाइ थियो।
तर डिजाइन सम्पन्न भई टेन्डर प्रक्रियामा गइसकेका वा जाने तयारीमा रहेका, उपभोक्ता समितिसँग सम्झौता भई कार्यान्वयनको चरणमा पुगेका तथा अन्य महत्वपूर्ण आयोजनाहरूको बजेट भने फुकुवा गरिएको अर्थमन्त्री खनालले स्पष्ट पारे।