

काठमाडौं । नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा. प्रकाशशरण महतले नुवाकोटसहित देशभर कांग्रेसका उम्मेदवारहरू बलियो स्थितिमा रहेको बताएका छन्। विशेष कुराकानीमा उनले कांग्रेसका उम्मेदवार र कार्यकर्ताहरू जनताको सुख–दुःखका सधैंका साथी भएकाले जुनसुकै परिस्थितिमा पनि जनतासँगै रहने स्पष्ट पारे।
वैकल्पिक भनिएका दलहरूसँग कांग्रेसको तुलना नै हुन नसक्ने उनको दाबी छ। “वैकल्पिक भनिएका शक्तिहरूको शिर र पुच्छरको अत्तोपत्तो छैन। कहाँबाट आउँछन्, कहाँ हराउँछन् थाहा हुँदैन। सामाजिक सञ्जालको प्रभावले उनीहरू देखिएका हुन्,” उनले भने, “हामीसँग संगठन छ, इतिहास छ, ७५ वर्षको संघर्ष छ। अनेक उतारचढाव झेलेर पनि कांग्रेस टिकेको छ, किनकि हामी सधैं जनतासँग छौं।”
नुवाकोटको सन्दर्भमा आफू ऊर्जा मन्त्री र अर्थ मन्त्री हुँदा विभिन्न चरणमा काम गरेर देखाइसकेको उल्लेख गर्दै डा. महतले यसपटक पनि मतदाताले आफूलाई रोज्ने विश्वास व्यक्त गरे। “म प्रत्यक्ष निर्वाचनमा नलड्दा पनि नुवाकोटका लागि धेरै काम गरेको छु। परिपक्व, इमानदार र काम गर्न सक्ने व्यक्तिको पहिचान बनाइसकेको छु,” उनले भने, “गाह्रो र अफ्ठ्यारो अवस्थामा पनि डा. महतले काम गर्छ भन्ने विश्वास नुवाकोटवासीमा छ।”
पछिल्ला १० वर्ष कांग्रेसको प्रतिनिधित्व नहुँदा नुवाकोटमा अपेक्षित विकास हुन नसकेको बताउँदै उनले त्यसको क्षतिपूर्ति दिनेगरी आफ्नै पहलमा करिब सात अर्ब रुपैयाँ बराबरका विकास बजेट सुनिश्चित गराएको जानकारी दिए। ककनी सडकमा एक अर्ब २० करोड, गगंटे–गोल्फुभञ्ज्याङ सडकमा एक अर्ब ३३ करोड, छहरे–टोखा सडकमा ८० करोड र ओखरपौवादेखिको सडकमा ११ करोड रुपैयाँ विनियोजन गरिएको उनले दाबी गरे।
त्यस्तै, तीनमुखे झोलुङ्गे पुल, छहरेदेखि घलेगाउँसम्मको सडकमा १५ करोड लगानी, चौघडाबाट बाहुनबेसीसम्म पुल निर्माण तथा सिंचाइ क्षेत्रमा गरिएको ठूलो लगानीले कृषकलाई प्रत्यक्ष लाभ पुगेको उनको भनाइ छ। आयातित कृषिजन्य वस्तुमा भन्सार बिन्दुमा कडाइ गरेर नेपाली कृषकलाई संरक्षण गरिएको उल्लेख गर्दै हालको सरकारले त्यो व्यवस्था हटाउँदा कृषक र व्यवसायी मारमा परेको उनले बताए।
प्रदेश र केन्द्रबाट दर्जनौं योजना नुवाकोट भित्र्याइएको, सुरुङमार्गका लागि एक अर्ब बजेट सुनिश्चित गरिएको र ठूला पूर्वाधारका कारण जग्गाको मूल्य बढ्नुका साथै पर्यटन र व्यवसाय फस्टाएको उनको दाबी छ।
डा. महतले नेपाली कांग्रेसको प्रतिस्पर्धा वैकल्पिक होइन, पुराना दलहरूसँग हुने बताए। आफू नुवाकोट–१ मा बलियो उम्मेदवार भएको र विजय निश्चित रहेको दाबी गर्दै उनले भने, “मतदाताले कुरा होइन, काम गर्ने नेता खोजेका छन्। मैले पनि पार्टी होइन, काम रोजौं भनेको छु। नुवाकोटबासी काम रोज्न तयार छन्।”
कांग्रेस एकढिक्का भएकाले यसपटक चुनावी प्रतिस्पर्धा अझ सहज भएको उल्लेख गर्दै उनले देशको स्थिरता, लोकतन्त्र, विधिको शासन र राष्ट्रियताको रक्षा गर्न कांग्रेसको जित आवश्यक रहेको बताए। “राष्ट्रियता कमजोर बनाउने प्रयासविरुद्ध, स्थिरता र लोकतन्त्रका लागि कांग्रेसलाई मतदान गर्न आग्रह गर्छु,” उनले भने, “नुवाकोटका लागि पनि काम गर्ने व्यक्तिलाई भोट दिनुहोस्।”