दार्चुलामा प्रहरी हवलदार हत्याकाे आरोपमा तीन जना पक्राउ, चार फरार

दार्चुलामा प्रहरी हवलदार हत्याकाे आरोपमा तीन जना पक्राउ, चार फरार

धनगढी । दार्चुला महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने चार जना फरार रहेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार घटनामा संलग्न भएको आशंकामा महाकाली–४ बस्ने २० वर्षीय दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको हो।

फरार रहेका व्यक्तिहरूमा अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनका जेठी श्रीमती लक्ष्मी बडु, भाइ मनिस पाल र शव व्यवस्थापनमा सहयोग गर्ने राजेन्द्र डडाल रहेका छन्। प्रहरीले जनाएको छ कि पक्राउ परेकी दिपिका आशिक पालकी कान्छी श्रीमती हुन्।

प्रारम्भिक अनुसन्धान अनुसार, अस्मिता बियर बारमा दिपिकालाई जिस्काएको विषयमा असन्तुष्ट भएपछि उनका श्रीमान् आशिकले हवलदार घर्तीमाथि कुटपिट गरेको जनाइएको छ। पक्राउ परेकाहरूले आशिक र उनका भाइले कुटपिट गरी हत्या गरेको बयान दिएका छन् भने प्रहरीले यसबारे थप परीक्षण गर्दैछ।

एसएसपी विष्टका अनुसार घर्तीको टाउकोमा धारिलो हतियार प्रहार गरिएको छ। घटनापछि फरार रहेका व्यक्तिहरूको खोजी कार्य जारी छ भने थप अनुसन्धान जारी रहेको बताइएको छ।