-रामचन्द्र दुलाल-
सिन्धुपाल्चोक, ३० असोज । आमा दब्लम सिन्धु युवा क्लबको आयोजनामा सहिद लालबहादुर गुरुङ स्मृती कप जिल्ला व्यापी भलिबल प्रतियोगिता तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।
मेलम्ची नगरपालिका वडा नंः ३ हैबुङमा सम्पन्न कार्यक्रममा जिल्लाका आठ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा मेलम्ची नगरपालिका २ प्रथम हुन सफल भयो । त्यसैगरी योङस्टार युवा क्लब दुवाचौर दोश्रो, नमूना युथ एक्टिभ गु्रप तेश्रो र इन्द्रावती गाँउपालिकाले सान्त्वना पुरस्कार जितेका थिए ।
प्रथम, द्धितिय, तृतिय र सान्त्वनालाई क्रमशः ५० हजार ५ सय ५५, ३० हजार ३ सय ३३, २० हजार २ सय २२ र ५ हजार ५ सय ५५ नगद सहित प्रमाण पत्र र मेडल प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले वितरण गर्नुभएको थियो ।
सो अवसरमा कांग्रेस नेता बस्नेतले कोस्टारिका भन्ने देशलाई विश्वसामु चिनाउन एउटा खेलाडीको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै राष्ट्रलाई विश्वसामु परिचित गराउन खेलाडीको योगदान धेरै हुने बताउनु भयो । साथै उहाँले खेलकूदको विकासका लागि जुनसुकै बेला पनि आफुले सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी मेलम्ची नपा–३ का वडाध्यक्ष बसन्त गुरुङले कांग्रेसको निर्देशनअनुसार वडा नंः ३ मा पुरानै करको दररेट कायम राख्ने बताउदै गाँउको विकासकालागि कुनै कसुर बाँकी नराखेर आफु दिनरात लागि पर्ने बताउनुभयो ।
त्यस्तै क्लबका अध्यक्ष राजु गुरुङले माओवादी द्धन्द्धकालमा मारिएका बुवाको सम्झनामा सहिद लालबहादुर गुरुङ स्मृती कप भलिबल प्रतियोगिता शुरु गरेको जानाकारी दिदै यसलाई अनन्तकालसम्म निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न दलका प्रतिनिधिहरु, श्याम खड्का, मुस्कान पौडेल लगायतले विजेताहरुलाई बधाई दिदै शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा चर्चित कलाकारहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।