

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. बेदुराम भुसालले राष्ट्रिय सभालाई आगामी दिनमा प्रतिनिधिसभाको छायाजस्तो नबन्ने, छुट्टै पहिचानसहितको प्रबुद्ध सभा बन्ने कामना व्यक्त गरेका छन्।
सोमबार राष्ट्रिय सभामा भएको विदाइ सम्बोधनमा उनले भने, “यो सभा प्रतिनिधिसभाको प्रति छाया जस्तो नबनी, छुट्टै पहिचानसहितको प्रबुद्ध सभाको रूपमा काम गर्ने अवसर पाओस्।”
डा. भुसाल २०७६ माघमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए। उनले विगत ६ वर्षमा राष्ट्रिय सभामा रहँदै कानुन निर्माण र कार्यान्वयन मूल्याङ्कनमा सक्दो भूमिका निर्वाह गरेको उल्लेख गरे।
उनले समयमै सभाका बैठक सञ्चालन गर्ने, समयतालिका अनुसार काम अघि बढाउने र कानुनको कार्यान्वयन मूल्याङ्कन गर्ने कामले सकारात्मक भूमिका खेलेको बताए। “कानुन निर्माणमा विभिन्न मानकहरू स्थापित भएका छन्,” उनले भने।
साथै उनले राष्ट्रिय सभा कर्मचारीतन्त्रमा पुरानै ढाँचालाई निरन्तरता दिने प्रवृत्ति रहेको बताउँदै, यसलाई सुधार्नुपर्ने आवश्यकता रहेको औँल्याए।