

सिरहा । हुलाकी राजमार्ग अन्तर्गत सिरहाको औरही गाउँपालिका–४ स्थित सहजा खोलामा अलपत्र परेको पुल तत्काल निर्माणको माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन्।
पुल नहुँदा बारम्बार दुर्घटना भई सर्वसाधारणले ज्यान गुमाउनुपरेको भन्दै स्थानीयले सोमबार बिहान अलपत्र पुलकै अगाडि प्रदर्शन गर्दै हुलाकी सडक अवरुद्ध गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले प्रहरी, प्रशासन र ठेकेदारविरुद्ध नाराबाजीसमेत गरे।
प्रदर्शनमा सहभागी स्थानीय दिपेन्द्र यादवले पुल निर्माण अलपत्र परेकै कारण दैनिकजसो दुर्घटना भइरहेको र निर्दोष नागरिकले ज्यान गुमाइरहनु परेको बताए। अर्का स्थानीय लक्ष्मीप्रसाद यादवका अनुसार वर्षायाममा आउने बाढी तर्न नसक्दा आवतजावत पूर्ण रूपमा ठप्प हुने गरेको छ, जसले दैनिक यात्रालाई कष्टकर बनाएको छ।
यसैगरी स्थानीय अमितकुमार यादव (बन्ठा) ले पुल निर्माण सुरु भएको करिब चार वर्ष बितिसक्दा पनि काम सम्पन्न नहुनु सरकार र ठेकेदार दुवैको गम्भीर लापरबाही भएको आरोप लगाए।
औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले पुल नहुँदा औरही, बरियारपट्टि, नवराजपुर, अर्नामा तथा सिरहा नगरपालिका क्षेत्रका नागरिकलाई आवतजावतमा ठूलो समस्या भइरहेको बताए। पटक–पटक ठेकेदारसँग छलफल गर्दा पनि काम अघि नबढेको उनको भनाइ छ।