

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालमा पूर्वाधार आयोजना समयमै सम्पन्न नहुनु ठूलो समस्या बनेको बताएका छन्। सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले यस्तो प्रवृत्तिले विकासको लागत मात्र बढाएको नभई देशको आर्थिक उत्पादनमा समेत गम्भीर असर पारेको उल्लेख गरे।
‘हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या छ। यसले विकासको लागत त बढाएको छ नै, सँगै आर्थिक उत्पादनमा पनि ठूलो असर पारेको छ,’ थापाले भनेका छन्, ‘सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु हाम्रो प्रतिबद्धता हो।’
समस्याको समाधान जादु वा चमत्कारजस्तो गरी निस्किन्छ भन्ने सोचले आगामी पाँच वर्ष पनि खेर जाने चेतावनी उनले दिए। ‘आगामी पाँच वर्ष खेर नजाने गरी काम गर्नुपर्नेछ,’ उनले भने, ‘यसका लागि कानुनी सुधार, संस्थागत क्षमता अभिवृद्धि, सार्वजनिक संस्थाहरूको काम गर्ने शैलीमा परिवर्तन र नयाँ वित्तीय मोडेलको अभ्यास आवश्यक छ।’
थापाले केही नयाँ जोखिम उठाउनुपर्ने, निजी क्षेत्रलाई विश्वासका साथ सँगसँगै लैजानुपर्ने र अनुगमन गर्ने तरिका परिवर्तन गर्नुपर्ने आवश्यकता पनि औँल्याए।
मेलम्ची खानेपानी आयोजना निर्माणमा २५ वर्ष लाग्नु, नारायणगढ–बुटवल सडक, पूर्व–पश्चिम राजमार्ग, फास्ट ट्र्याकजस्ता आयोजना वर्षौंसम्म अल्झिनु तथा सहरका सडक पटक–पटक खन्नुपर्ने अवस्थाले देशको आर्थिक उत्पादकत्वमा गम्भीर असर परेको उनको भनाइ छ।
ठेकेदारलाई तर्साउने वा मन्त्रीले व्यक्तिगत निर्देशन दिने मात्रले समस्या समाधान नहुने स्पष्ट पार्दै थापाले दीर्घकालीन संरचनात्मक सुधारमार्फत मात्रै विकासको गति बढाउन सकिने बताएका छन्।