

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपमा इंग्ल्यान्डसँग हुने खेलअघि नेपाली क्रिकेट समर्थकहरू नेपालको राष्ट्रिय झण्डासहित मुम्बई पुगेका छन्।
ग्रुप ‘सी’ मा रहेको नेपालले इंग्ल्यान्डविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्न लागेका कारण पहिलो खेल हेर्न नेपाली दर्शकहरूको उपस्थिति क्रमशः बढ्दै गएको छ। समर्थकहरू राष्ट्रिय क्रिकेट टोलीको जर्सी, शिरमा ढाकाटोपी र हातमा राष्ट्रिय झण्डा बोकेर उत्साहपूर्वक मुम्बई पुगेका छन्।
नेपालले इतिहासमै पहिलोपटक इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो। विश्वकपका समूह चरणका आफ्ना सबै खेल नेपालले मुम्बईस्थित वानखेडे स्टेडियममा खेल्नेछ।
ग्रुप ‘सी’ मा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेका छन्। नेपाली समर्थकहरूले टिमको ऐतिहासिक प्रदर्शनको अपेक्षासहित रंगशालामा उपस्थिति जनाउने तयारी गरेका छन्।