काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना भइरहेको टी–२० विश्वकप क्रिकेटमा न्यूजिल्यान्डले विजयी सुरुवात गरेको छ।
आइतबार सम्पन्न खेलमा न्यूजिल्यान्डले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्यो। १८३ रनको लक्ष्य न्यूजिल्यान्डले १७.५ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्यो।
न्यूजिल्यान्डका टिम शेफर्टले विस्फोटक ब्याटिङ गर्दै ४२ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ६५ रन जोडे। ग्लेन फिलिप्सले ४२, मार्क चापम्यानले २८ रन बनाए भने डेरिल मिचेल २५ रनमा आउट भए। मिचेल स्यान्टनर १४ रनमा नटआउट रहे।
अफगानिस्तानका तर्फबाट बलिङमा मुजीब रहमानले दुई विकेट लिए भने अजमतुल्लाह ओमारजाइ, राशिद खान र मोहम्मद नाबीले एक–एक विकेट झारे।
यसअघि चेन्नईको एमए चिदम्बरम स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनाएको थियो।
अफगानिस्तानका गुलबदिन नइबले अर्धशतकीय पारी खेल्दै ३५ बलमा ४ छक्का र ३ चौकासहित ६३ रन जोडे। सेदिकुल्लाह अटलले २९, रहमानुल्लाह गुरबाजले २७, डार्बिस रसुलीले २० तथा अजमतुल्लाह ओमारजाइले १४ रन बनाए।
न्यूजिल्यान्डका लागि बलिङतर्फ लोकी फर्ग्युसनले दुई विकेट लिए भने म्याट हेनरी, रचिन रविन्द्र र जेकोब डफीले एक–एक विकेट लिए।





