कार्यकाल सकिन लागेका राष्ट्रिय सभा सदस्यले सोमबारदेखि बिदाइ सम्बोधन गर्ने

कार्यकाल सकिन लागेका राष्ट्रिय सभा सदस्यले सोमबारदेखि बिदाइ सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय सभाको कार्यकाल सकिन लागेका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन गर्ने भएका छन्। फागुन २० गते कार्यकाल समाप्त भएर बिदा हुन लागेका सांसदहरूले संसद्मा आफ्ना अनुभूति राख्ने कार्यसूची तय गरिएको छ।

राष्ट्रिय सभाको चालु अधिवेशन माघ ४ गतेदेखि सुरु भएको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने तयारी भइरहेको छ। सोहीअनुसार सोमबार बैठक बस्नेछ, जहाँ बिदाइ हुन लागेका सांसदहरूले सम्बोधन गर्नेछन्।

यदि सोमबार नै सबै सांसदको सम्बोधन नसकिएमा माघ २८ गते बस्ने बैठकमा सो प्रक्रिया निरन्तरता पाउनेछ। अर्को बैठक फागुन १ गतेका लागि तय गरिएको छ। संसद् सचिवालयका अनुसार सरकारले थप बैठक नराख्ने गरी व्यवस्थापन गर्न सन्देश पठाएपछि सोहीअनुसार कार्यसूची तय गरिएको हो।

यसपटक कार्यकाल पूरा गरेर १९ जना सांसद बिदा हुन लागेका छन्। तीमध्ये १८ जना निर्वाचित र एक जना राष्ट्रपतिबाट मनोनीत सांसद हुन्। मनोनीत सांसद वामदेव गौतमले यसअघि नै राजीनामा दिइसकेका छन्। यस्तै, सांसद नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेपछि राष्ट्रिय सभाबाट राजीनामा दिएका छन्। बाँकी १६ जना सांसदले बिदाइ सम्बोधन गर्नेछन्।

फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। राष्ट्रिय सभा सदस्यहरू विभिन्न राजनीतिक दलसँग आबद्ध भएकाले उनीहरू निर्वाचन प्रचारमा सक्रिय हुने तयारीमा छन्। यस कारण राष्ट्रिय सभा सदस्यहरू स्वयंले समेत अधिवेशन लामो समय नचलाउनुपर्ने धारणा राख्दै आएका छन्।

संघीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने विषयमा सरकार र संसद् सचिवालयबीच अनौपचारिक परामर्श भएको छ।

सरकारले आगामी चैत १ गतेदेखि नयाँ संसद्को अधिवेशन आह्वान गर्ने तयारी गरेको संसद् सचिवालयले जनाएको छ।