आईसीसी टी–२० विश्वकप आजदेखि भारत र श्रीलङ्कामा, नेपाल भोलि इङ्ग्ल्यान्डसँग भिड्दै

आईसीसी टी–२० विश्वकप आजदेखि भारत र श्रीलङ्कामा, नेपाल भोलि इङ्ग्ल्यान्डसँग भिड्दै

काठमाडौँ। १०औँ संस्करणको आईसीसी टी–२० विश्वकप आजदेखि भारत र श्रीलङ्कामा संयुक्त रूपमा सुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स आमनेसामने हुँदैछन्। उक्त खेल श्रीलङ्काको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरू हुनेछ।

आजै हुने अन्य खेलहरूमा दिउँसो ३:१५ बजे वेस्ट इन्डिज र स्कटल्यान्ड कोलकाताको इडेन गार्डेन्समा खेल्नेछन् भने बेलुका ७:१५ बजे आयोजक भारत र अमेरिका मुम्बईको वानखेडे स्टेडियममा भिड्नेछन्।

यस विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदैछ। नेपालले भोलि मुम्बईमा इङ्ग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। सुरक्षा कारण देखाउँदै बङ्गलादेशले भारतमा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउन अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले स्कटल्यान्डलाई समावेश गरेको हो।

प्रतियोगितामा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ।

  • समूह ‘ए’: भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स

  • समूह ‘बी’: अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान

  • समूह ‘सी’: नेपाल, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली

  • समूह ‘डी’: दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, यूएई र क्यानडा

इटालीले पहिलो पटक टी–२० विश्वकप खेल्न लागेको हो। प्रतियोगिता आउँदो मार्च ८ तारिखसम्म चल्नेछ।

अहिलेसम्म ६ वटा टोलीले टी–२० विश्वकपको उपाधि जितेका छन्। भारत, इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजले दुई–दुई पटक उपाधि जित्दा पाकिस्तान, श्रीलङ्का र अस्ट्रेलियाले एक–एक पटक विश्वकप उपाधि हात पारेका छन्।