काठमाडौँ, २९ असाेज । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले पार्टीका नेता चक्रप्रसाद बाँस्तोलाप्रति श्रद्धासुमन व्यक्त गर्दै ३ दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले बाँस्तोलाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सोमबार देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कांग्रेस उपसभापति बिमलेन्द्र निधिका अनुसार पार्टीको आयोजनामा कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिने नियमित चियापान कार्यक्रम पनि स्थगित गरिएको छ । सो दिन शोकसभाको आयोजना गरिने जनाउँदै निधिले कात्तिक १६ चियापान कार्यक्रम गर्ने बताएका छन् ।
नेपाली कांग्रेसका नेता दिबंगत चक्रप्रसाद बाँस्तोलाको अस्तु झापास्थित कनकाई नदीमा बिसर्जन गरिने भएको छ । परिवारका एक सदस्यले दिएको जानकारी अनुसार बाँस्तोलाको चाहना बमोजिम उनको अस्तु सोमबार कनकाई माई नदीमा बिसर्जन गरिने छ ।