

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकामा बोलेरो गाडी दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिहीबार साँझ करिब ६ बजे सुनकोसी गाउँपालिका–५ खहरेस्थित भित्री सडकमा म.प्र.०३–००१ च ८५०० नम्बरको सिङ्गल क्याप बोलेरो दुर्घटनामा परेको हो। अमारेबाट कुलपुजाका यात्रु लिएर गाउँखर्कतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
बोलेरो सुनकोसी गाउँपालिका–६ का २५ वर्षीय मनोज नेपालीले चलाएका थिए। यात्रु खचाखच भएको अवस्थामा गाडी दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए।
दुर्घटनाको जानकारी पाउनासाथ राति नै खुर्कोटबाट प्रहरी निरीक्षक भुजेलको कमाण्डमा १० जना र प्रहरी चौकी रातामाटबाट प्रहरी सहायक निरीक्षक टेमप्रसाद तिमल्सिनाको कमाण्डमा ४ जनाको टोली घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो।
घाइतेमध्ये १५ जनाको आत्मीय अस्पताल खाल्टेमा उपचार भइरहेको छ। गम्भीर चोट लागेका चार जनालाई धुलिखेल अस्पताल रिफर गरिएको छ भने दुई जनालाई अन्यत्र पठाइएको प्रहरीले जनाएको छ।
घाइतेहरूको विवरण यस प्रकार छ :
१. चालक मनोज नेपाली (२५), सुनकोसी–६ — निधारमा चोट, धुलिखेल रिफर
२. सुनिल शुन्दास (१६), सुनकोसी–६ — दाहिने हातमा चोट, धुलिखेल रिफर
३. ससी नेपाली (३६), सुनकोसी–६ — टाउकोमा चोट, सामान्य
४. देब नेपाली (१७), सुनकोसी–६ — खुट्टामा चोट, सामान्य
५. सरोज नेपाली (२२), सुनकोसी–६ — टाउकोमा चोट, सामान्य
६. रामकृष्ण स्यवा (३५), सुनकोसी–६ — बाँया हातमा चोट, मध्यम
७. कृतीमान नेपाली (४६), सुनकोसी–६ — दाहिने खुट्टा र अनुहारमा चोट, मध्यम
८. गजेन्द्र नेपाली (४८), सुनकोसी–६ — अवस्था सामान्य
९. गोपाल नेपाली (४३), सुनकोसी–६ — टाउको र ढाडमा चोट, मध्यम
१०. धनबहादुर नेपली (६८), काठमाडौँ महानगरपालिका–१४ — अवस्था सामान्य
११. कमल नेपाली (१३), सुनकोसी–६ — अवस्था सामान्य
१२. संदिप नेपाली (१३), सुनकोसी–६ — अवस्था सामान्य
१३. मनिष नेपाली (१३), सुनकोसी–६ — ढाडमा चोट, सामान्य
१४. निश्चल नेपाली (१६), सुनकोसी–६ — बाँया खुट्टा र तिघ्रामा चोट, मध्यम
१५. सविन नेपाली (१३), सुनकोसी–६ — अवस्था सामान्य
१६. चन्द्रबहादुर नेपाली (६१), धादिङ नेत्रावती गाउँपालिका–१ — अवस्था सामान्य
१७. चन्द्रबहादुर देवकोटा (६४), कमलामाई नगरपालिका–३ — अवस्था सामान्य
१८. मसिने दमाई (६४), सुनकोसी–६ — अवस्था सामान्य
१९. बलराम नेपाली (४०), सुनकोसी–५ — अवस्था सामान्य
२०. कृष्णबहादुर नेपाली (५२), सुनकोसी–६ — टाउको र छातीमा चोट, धुलिखेल रिफर
२१. दुर्गबहादुर नेपाली (४९), सुनकोसी–६ — टाउको र घुँडामा चोट, धुलिखेल रिफर
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।