

बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। मृतक सबैको सनाखत भइसकेको प्रहरीले जनाएको छ।
पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर फर्किँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस सोही वडाको बढ्गाउँ मोडमा गएराति दुर्घटनामा परेको हो। बस सडकबाट करिब २ सय मिटर तल खस्दा कच्याककुचुक भएको छ।
विहीबार रातिसम्म ८ जनाको मृत्यु पुष्टि भएको थियो। थप ५ जनाको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रहरीका अनुसार डडेलधुरा अस्पतालमा उपचारकै क्रममा मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, अन्दाजी २७ वर्षीय दीपक जोशी र अन्दाजी ४५ वर्षीय किसनदत्त जोशी रहेका छन्। यस्तै बझाङकै केदारस्यु गाउँपालिका–७ का अन्दाजी २६ वर्षीय केशवराज भट्ट र बैतडी पुर्चौडी नगरपालिका–७ का अन्दाजी १४ वर्षीय सुशील जोशीको पनि मृत्यु भएको छ।
अन्य मृतकमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशी छन्। यसैगरी बझाङ केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट तथा जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला पनि मृतकको सूचीमा छन्।
दुर्घटनामा घाइते भएकामध्ये २५ जनाको डडेलधुरा अस्पतालमा र ४ जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ।
बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुले जानकारी दिए।
प्रहरीका अनुसार बेहुला–बेहुली भने अर्को सवारीसाधनमा रहेकाले सकुशल छन्। जन्ती सवार बस बझाङको सुनकुडातर्फ फर्किँदै गर्दा दुर्घटनामा परेको थियो।