

काठमाडौं । आइसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडामाथि ६ विकेटको शानदार जित निकालेको छ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा भर्खरै सम्पन्न खेलमा १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालको जितमा आसिफ शेखले आक्रामक अर्धशतकीय इनिङ्स खेले। २९ बल खेलेका आसिफ ६ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाउँदै रिटायर्ड आउट भए। यस्तै, सन्दीप जोराले ३० बलमा ४ चौका र १ छक्कासहित ४४ रनको योगदान दिए। गुलशन झा ३१ रनमा अविजित रहे।
बलिङतर्फ क्यानडाका जास्करन सिंह, अजयवीर हुन्डाइ र साद बिन जाफरले एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेटको क्षतिमा १६१ रन जोडेको थियो। क्यानडाका लागि नवनित धलिवालले सर्वाधिक ४१ रन बनाए भने श्रेयस मोव्वाले अविजित ३८ रनको योगदान दिए। १८ औं ओभरमा आक्रामक ब्याटिङ गर्दै मोव्वाले दुई छक्का र एक चौका प्रहार गरेका थिए।
त्यस्तै, कन्वरपाल ताथगुरले २५ रन बनाउँदा जास्करन सिंहले ११ बलमा ३ छक्कासहित २१ रन जोडे। निकोलक किर्तोनले १० रन बनाए।
नेपालका लागि बलिङमा सन्दीप लामिछानेले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिए भने कुशल भुर्तेलले तीन ओभरमा २६ रन खर्चेर दुई विकेट हात पारे। सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिए।
यसअघि नेपालले पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गरेको थियो।
नेपाल आइसीसी टी–२० विश्वकपको समूह ‘सी’ मा रहेको छ। नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। यसै समूहमा दुई–दुई पटकका विश्वविजेता वेस्ट इन्डिज र इङ्ल्यान्डसहित स्कटल्यान्ड र इटाली रहेका छन्।