टी–२० विश्वकप वार्मअपमा नेपाल आज क्यानडाविरुद्ध मैदानमा

टी–२० विश्वकप वार्मअपमा नेपाल आज क्यानडाविरुद्ध मैदानमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी टी–२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेल खेल्दैछ। नेपालले क्यानडाविरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा दिउँसो सवा १ बजेदेखि प्रतिस्पर्धा गर्नेछ।

यसअघि नेपालले युएईविरुद्धको वार्मअप खेल ७ विकेटले जित्दै विश्वकपका लागि राम्रो तयारी भएको संकेत दिएको थियो। क्यानडा भने इटालीसँगको वार्मअप खेलमा १० रनले पराजित भएर नेपालसँग खेल्न लागेको हो।

रोहित पौडेलको कप्तानीमा नेपाल १५ सदस्यीय टोलीसहित टी–२० विश्वकपमा तेस्रो पटक सहभागी हुँदैछ। टोलीको उपकप्तान दीपेन्द्र सिंह ऐरी छन्। विश्वकप खेल्ने नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमद समावेश छन्।

आइसीसी टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ। नेपाल रहेको समूहमा इङल्यान्ड, स्कटल्याण्ड, इटाली र वेष्ट इण्डिज छन्।

नेपालले फेब्रुअरी ८ मा इङल्यान्डसँग पहिलो खेल खेल्नेछ। त्यसपछि फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। नेपालका सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा हुनेछन्।