

काठमाडौं । निर्वाचनका क्रममा राजनीतिक दल तथा उम्मेदवारहरूले पाउने नगद सहयोग र चन्दा अब अनिवार्य रूपमा बैंक खातामार्फत मात्रै कारोबार गर्नुपर्ने भएको छ। निर्वाचन आयोगले मंगलबार पारित गरेको ‘निर्वाचन अभियान बैंक खाता कार्यविधि, २०८२’ ले यस्तो व्यवस्था गरेको हो।
नयाँ कार्यविधिअनुसार राजनीतिक दल वा उम्मेदवारले नगद वा चेकमार्फत जुनसुकै माध्यमबाट रकम प्राप्त गरे पनि त्यसलाई पहिले बैंक खातामा जम्मा गरेर मात्रै खर्च गर्नुपर्नेछ। कार्यविधिको दफा ६(२) अनुसार २५ हजार रुपैयाँ वा सोभन्दा बढी आर्थिक सहयोग सिधै बैंक खातामा लिनुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, २५ हजार रुपैयाँभन्दा कम रकमसमेत नगदी रसिद वा भरपाई दिएर बैंक खातामा जम्मा गर्नुपर्ने उल्लेख छ। आयोगले सरकारी निकाय वा सरकारी बजेट परिचालन हुने स्थानबाट आर्थिक सहयोग लिन नपाइने व्यवस्था गरेको छ। साथै, सार्वजनिक कम्पनी, विदेशी सरकार, संस्था वा व्यक्तिबाट सहयोग लिन पनि निषेध गरिएको छ।
एक लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्ने व्यक्ति वा संस्थाको विस्तृत विवरण उम्मेदवारले अभिलेखमा राख्नुपर्नेछ। कानूनले तोकेको अवस्थामा बाहेक ती विवरण गोप्य रहने आयोगले जनाएको छ।
यसअघि खोलिएका दल वा उम्मेदवारका बैंक खातासमेत नयाँ प्रक्रियाअनुसार नियमन गरिनेछ। त्यसका लागि नयाँ खाता खोल्नुपर्ने र पुरानो खाताको रकम नयाँ खातामा सार्नुपर्ने व्यवस्था गरिएको छ। निर्वाचन सकिएको ३५ दिनपछि ती खाता बन्द गर्नुपर्नेछ भने बैंकहरूले खातासम्बन्धी विवरण छ वर्षसम्म सुरक्षित राख्नुपर्नेछ। उम्मेदवारी रद्द भएका उम्मेदवारका खाता भने आयोगले तत्काल बन्द गराउनेछ।
निर्वाचन आयोगले काठमाडौंका पाँच वटा कोष तथा लेखा नियन्त्रण कार्यालयलाई १० वटा निर्वाचन क्षेत्र हेर्ने गरी जिम्मेवारी बाँडफाँट गरेको छ। साथै, देशभरका कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुखहरूलाई निर्वाचन प्रचार–प्रसार खर्च अनुगमनको जिम्मेवारी पनि तोकिएको छ।