काठमाडौं । पछिल्लो समय बजारमा खाना पकाउने ग्यास (एलपीजी) अभाव हुन सक्ने भन्दै फैलिएको हल्ला निराधार रहेको नेपाल आयल निगमले स्पष्ट पारेको छ । निगमले मागभन्दा बढी ग्यास आपूर्ति भइरहेको जनाउँदै उपभोक्तालाई अनावश्यक रूपमा सिलिण्डर सञ्चय नगर्न अनुरोध गरेको छ ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा दैनिक औसत ९० बुलेट, अर्थात् करिब १ लाख १४ हजार सिलिण्डर एलपी ग्यासको माग रहेको छ । तर पछिल्ला दिनहरूमा भारतीय आयल कर्पोरेसन (आईओसी) बाट उक्त परिमाणभन्दा बढी ग्यास लोडिङ भइरहेको उनले जानकारी दिए ।
भट्टका अनुसार गत शनिबार ११८ बुलेट अर्थात् १ लाख ४९ हजार ५ सय सिलिण्डर, सोमबार ११५ बुलेट अर्थात् १ लाख ४५ हजार १ सय सिलिण्डर र मंगलबार १३२ बुलेट अर्थात् १ लाख ६७ हजार ३ सय सिलिण्डर ग्यास लोडिङ भएको छ ।
लोडिङ भएका बुलेटहरूमध्ये केही नेपाल भित्रिसकेका र केही बाटोमै रहेको उल्लेख गर्दै उनले आगामी निर्वाचन अवधिभर पनि नियमित रूपमा ग्यास आपूर्ति जारी रहने दाबी गरे ।
ग्यास आपूर्ति पर्याप्त र सहज रहेकाले अभावको त्रासमा परेर घरमा अनावश्यक रूपमा सिलिण्डर स्टक नगर्न उनले उपभोक्तालाई आग्रह गरे । निगमले आपूर्ति व्यवस्थामा कुनै समस्या नरहेको भन्दै ढुक्क रहन र अनावश्यक सञ्चयले बजारमा कृत्रिम दबाब सिर्जना गर्न सक्ने भएकाले सचेत रहन अनुरोध गरेको छ ।





