साफ यू– १९ महिला च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँग भिड्दै

साफ यू– १९ महिला च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँग भिड्दै

पोखरा । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज घरेलु टोली नेपालले बङ्गलादेशको सामना गर्दै छ । पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । यसअघि अपराह्न १२ बजे भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

लिग चरणको अन्तिम खेलमा नेपाल दबाबमा रहनेछ । फाइनल प्रवेशको सम्भावना जोगाइराख्न नेपाललाई बङ्गलादेशविरुद्ध जितको विकल्प छैन । बङ्गलादेश ६ अङ्कसहित अङ्क तालिकाको शीर्ष स्थानमा छ र फाइनलको नजिक पुगेको छ ।

नेपाल र भारतले समान एक–एक खेल जित्दै ३–३ अङ्क बनाएका छन् । भुटानले अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन र अङ्कविहीन छ ।

लिग चरणको अन्तिम खेलमा भुटानले भारतको सामना गर्नेछ । भारतले भुटानलाई पराजित गरेमा उसको फाइनल प्रवेशको सम्भावना बलियो हुनेछ । तर यदि भारत भुटानसँग पराजित भयो भने नेपालले बङ्गलादेशसँग बराबरी गरे मात्र पनि फाइनलमा स्थान बनाउन सक्नेछ ।

नेपाल पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २–१ गोलले हराएको थियो । बङ्गलादेशले भने पहिलो खेलमा भुटानलाई १२–० ले र दोस्रो खेलमा भारतलाई २–० ले पराजित गरेको थियो ।

प्रतियोगिताको अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल यही माघ २४ गते सञ्चालन हुनेछ ।