

काठमाडौं । काठमाडौं महानगरपालिकाले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ पठाएको छ । निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेपछि ७० वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिन सुरु गरिएको विषयमा आयोगले स्पष्टीकरण मागेको थियो ।
जवाफमा महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा दिने कार्यक्रम वार्षिक बजेटबाट स्वीकृत भएकाले आचारसंहिता विपरीत नभएको स्पष्ट पारेको छ ।
महानगरले पठाएको जवाफमा भनिएको छ, ‘यस महानगरपालिकाको नगरसभाको १७औँ अधिवेशनबाट आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेटको क्रमसंख्या ७७१ मा ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा कार्यक्रम स्वीकृत भएको व्यहोरा अनुरोध छ।’
निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) को उपखण्ड (ग) अनुसार वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत नभएका नयाँ नीति, योजना वा कार्यक्रम घोषणा, स्वीकृत वा सञ्चालन गर्न नपाइने व्यवस्था छ । तर वार्षिक बजेटमै समावेश भइसकेको कार्यक्रम भएमा आचारसंहिता लागू हुँदासमेत सञ्चालन गर्न सकिने व्यवस्था रहेको छ ।
महानगरपालिकाले सोही प्रावधानअनुसार वार्षिक बजेटबाट स्वीकृत कार्यक्रम भएकाले निर्वाचन आचारसंहिताअनुरूप नै कार्यक्रम अगाडि बढाइएको दाबी गर्दै निर्वाचन आयोगलाई स्पष्टीकरण पठाएको हो ।