

काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि (निर्वाचन कमान्डर) खटाएको छ । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको निर्वाचन परिचालन समितिले पार्टीको संगठनात्मक अवस्था, चुनावी तयारी र परिचालनको स्थिति बुझ्न केन्द्रीय सदस्यहरूलाई प्रदेशगत रूपमा जिम्मेवारी दिएको हो ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार केन्द्रीय प्रतिनिधिहरूले सम्बन्धित प्रदेशभित्रका जिल्लामा संगठनको अवस्था मूल्यांकन गर्ने, चुनावी प्रतिस्पर्धाको वास्तविक स्थिति बुझ्ने र आवश्यक परे केन्द्रीय तहसँग समन्वय गर्दै सहजीकरणको भूमिका निर्वाह गर्नेछन् ।
कोशी प्रदेशका ताप्लेजुङ, इलाम, पाँचथर र झापामा सहमहामन्त्री डा. डिला संग्रौलासहित निवर्तमान सहमहामन्त्री भीष्मराज आङ्देम्बे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बा खटिएका छन् । संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझीलाई जिम्मेवारी दिइएको छ । सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सिराहा र सप्तरीमा वसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जी परिचालित छन् ।
बागमती प्रदेशमा धादिङ, रसुवा, नुवाकोट र काठमाडौंका लागि बहादुरसिंह लामाको नेतृत्वमा डा. केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जितनारायण श्रेष्ठ र डा. अमिता प्रधान खटिएका छन् । काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुरमा जिपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्याललाई जिम्मेवारी दिइएको छ । भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र चितवनमा अर्जुननरसिंह केसी, दिलमान पाख्रिन, धना खतिवडा, मधुराप्रसाद घिमिरे र धर्मराज गौतम परिचालित छन् ।
गण्डकी प्रदेशका पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङमा चिनकाजी श्रेष्ठ, मनकुमारी गुरुङ, कृष्णबहादुर केसी र चिनु पोखरेल खटिएका छन् । स्याङ्जा, कास्की, मनाङ र नवलपुरमा ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ र किरणराज शर्मा पौडेल जिम्मेवार छन् । गोरखा, लमजुङ र तनहुँका लागि अब्दुल सत्तार, रेशम बानियाँ, शारदा पौडेल र सरस्वती अर्याल तिवारी खटिएका छन् ।
लुम्बिनी प्रदेशमा रुपन्देही, पाल्पा, नवलपरासी र गुल्मीका लागि डा. गोपाल दहित, गहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंह खटिएका छन् । कपिलवस्तु, अर्घाखाँची, रुकुम पूर्व, प्युठान र रोल्पामा कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मीकि, छन्दबहादुर पहराई र केशव आचार्य परिचालित छन् । दाङ, बाँके र बर्दियामा चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल, राधेश्याम पाठक र रंगमती शाही खटिएका छन् ।
सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, बैतडी, दार्चुला र बझाङमा हिमबहादुर रावल, निपा चोख्पाल र विद्यादेवी तिमिल्सिना खटिएका छन् । कैलाली र डडेल्धुरामा जगतप्रसाद जोशी, सुनिता राना, डा. रणबहादुर रावल र नृपबहादुर वडलाई जिम्मेवारी दिइएको छ । डोटी, अछाम र बाजुरामा नरेन्द्र भट्ट, सम्झना खत्री र सुशीला मिश्र भट्ट खटिएका छन् ।