

पोखरा । पोखरामा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २–१ गोलले हराएको हो।
नेपालको जितमा सिर्जना बढुवाल र प्रजिता राईले एक–एक गोल गरे। भुटानकी सोनाम छोडेनले एक गोल फर्काइन्। खेलको ३६औँ मिनेटमा सिर्जनाले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। त्यसपछि ७९औँ मिनेटमा प्रजिताले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्।
८८औँ मिनेटमा भुटानकी सोनामले सान्त्वना गोल गर्दै खेलमा फर्किने प्रयास गरिन्, तर भुटान बराबरी गर्न सफल हुन सकेन। नेपालकी सिर्जना बढुवाल प्लेयर अफ द म्याच घोषित भइन्।
यसअघि आजै भएको पहिलो खेलमा बंगलादेशले भारतलाई २–० गोलले पराजित गरेको थियो। प्रतियोगितामा दुई खेल खेलेको नेपालले पहिलो जित निकाल्दा भुटानले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा नेपाल भारतसँग तथा भुटान बंगलादेशसँग पराजित भएका थिए।
अब बुधबार दिउँसो १२ बजे भारत र भुटानबीच खेल हुनेछ भने दिउँसो ३ बजे नेपाल र बंगलादेश आमनेसामने हुनेछन्। समूह चरणपछि शीर्ष स्थानमा रहने दुई टोली फाइनलमा प्रवेश गर्नेछन्।