

चितवन । आज चितवनमा प्रदर्शनका क्रममा दुर्गा प्रसाईं नेतृत्वको समूह र प्रहरीबीच लफडा भएको छ।
भरतपुरको साझा बसपार्कबाट र्याली निकालेर चौबीसकोठीसम्म पुगेर फर्किने मौखिक अनुमति लिएको समूह चौबीसकोठी पुगेपछि बाटोमै सभा गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हो। प्रहरीले सभा गर्न नदिँदै रोक्न खोज्दा दुर्गा प्रसाईं समूहसँग लछारपछार भएको बताइएको छ।
चितवन प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार प्रसाईं समूहलाई चौबीसकोठीसम्म र्यालीका लागि मात्र अनुमति दिइएको थियो। तर, बाटो नै अवरुद्ध गरेर सभा गर्न खोजेपछि प्रहरीले रोक्नुपरेको र सो क्रममा लफडा भएको उनले जानकारी दिए।
प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार करिब ५–७ सयको संख्यामा रहेका प्रदर्शनकारीले सडक अवरुद्ध गरेपछि उनीहरूलाई तितरबितर पारिएको हो। सो क्रममा तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लछारपछारका क्रममा कुनै पनि व्यक्ति घाइते भने भएका छैनन्।