आज बंगलादेश-भारत र नेपाल-भुटान भिड्दै

आज बंगलादेश-भारत र नेपाल-भुटान भिड्दै

कास्की । पोखरास्थित रंगशालामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज (माघ १९) लिग चरणका दुई महत्वपूर्ण खेल हुँदैछन्।

आजको पहिलो खेलमा बंगलादेश र भारत मध्याह्न १२ बजे आमनेसामने हुनेछन्। त्यसपछि घरेलु टोली नेपालले दिउँसो ३ बजे भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल र भुटान दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भइसकेका छन्। नेपाल उद्घाटन खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो भने भुटान बंगलादेशसँग १२–० को फराकिलो अन्तरमा हार बेहोरेको थियो।

लिग चरणको दोस्रो खेलमा नेपाल र भुटान दुवै टोली दबाबमा रहनेछन्। फाइनलमा पुग्ने सम्भावना जिवित राख्न आजको खेल दुवैका लागि निर्णायक हुनेछ। उता, बंगलादेश र भारत भने एक–एक खेल जित्दै समान तीन अंकका साथ लिगको शीर्ष स्थानमा छन्।

यसपटक प्रतियोगितामा चार टोलीको मात्र सहभागिता रहेको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)को समन्वयमा अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन भइरहेको छ।

लिग चरणपछि शीर्ष दुई टोलीबीच माघ २४ गते फाइनल खेल हुने साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिएका छन्।