तीन महिनापछि सर्बियामा अलपत्र परेका भुवन विकको उद्धार, डुंगा दुर्घटनामा बेपत्ता बिष्णे सार्की अझै अज्ञात

तीन महिनापछि सर्बियामा अलपत्र परेका भुवन विकको उद्धार, डुंगा दुर्घटनामा बेपत्ता बिष्णे सार्की अझै अज्ञात

म्याग्दी । रोजगारीका लागि विदेश पुगेका रघुगङ्गा गाउँपालिका–६ फुलडाँडाका भुवन विक करिब तीन महिनापछि उद्धार भएर स्वदेश फर्किएका छन्। सर्बियाबाट इटली जाने क्रममा खोलामा डुंगा दुर्घटनामा परेर घाइते तथा अलपत्र बनेका विकलाई विभिन्न निकायको समन्वयमा उद्धार गरिएको हो।

तर सोही दुर्घटनामा बेपत्ता भएका बेनी नगरपालिका–९ काउलेगौँडाका बिष्णे सार्कीको अवस्था भने अझै अज्ञात रहेको छ।

जिल्ला प्रशासन कार्यालयअन्तर्गत आप्रवासी स्रोत केन्द्रको पहलमा वैदेशिक रोजगार बोर्ड, परराष्ट्र मन्त्रालय तथा जर्मनीस्थित नेपाली राजदूतावासको समन्वयमा गत कात्तिक २५ गते भएको डुंगा दुर्घटनापछि अलपत्र परेका विकको उद्धार सम्भव भएको हो। गत हप्ता जन्मथलो फर्किएका विकले आफूले नयाँ जीवन पाएको अनुभूति व्यक्त गरेका छन्।

“सर्बियामा काम र तलब नपाएपछि इटली जान खोज्दा म सहित १३ जना नेपाली चढेको डुंगा दुर्घटनामा पर्‍यो। पानीमा डुबेर घाइते भएँ,” विकले भने, “प्रहरीले उद्धार गरेर उपचार गराए पनि राहदानी र कागजात नहुँदा अलपत्र परेँ। दलालहरूले बेवास्ता गरेपछि घरमा खबर गरेर आप्रवासी स्रोत केन्द्रमार्फत उद्धार हुँदा नयाँ जीवन पाएको महसुस भएको छ।”

चिसो पानीमा डुबेका र धेरै पानी निलेका कारण विकको स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो। अहिले स्वास्थ्यमा सुधार आए पनि आन्द्रासम्बन्धी समस्या अझै निको नभएको उनले बताए। सर्बियामा काम र पारिश्रमिक नपाएपछि अवैध बाटो हुँदै इटली जान खोज्दा उनीहरू दुर्घटनामा परेका थिए।

आप्रवासी स्रोत केन्द्र म्याग्दीकी कर्मचारी प्रमिला पौडेलका अनुसार भुवनकी श्रीमती मीना विकले गत पुस २३ गते दिएको निवेदनका आधारमा गृह तथा परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार बोर्ड र जर्मनीस्थित नेपाली दूतावाससँग समन्वय गरी उद्धार गरिएको हो।

भुवनसँगै प्रतिव्यक्ति ११ लाख रुपैयाँ तिरेर सर्बिया पुगेका म्याग्दीका अन्य तीन जना पनि अपेक्षित काम र तलब नपाएपछि स्वदेश फर्किएका छन्।

डुंगा दुर्घटनामा बेपत्ता भएका बिष्णे सार्कीको खोजीका लागि उनका आफन्तले आप्रवासी स्रोत केन्द्रमा निवेदन दिएका छन्। बिष्णेका भाइ दिलगोपालले दुर्घटनाको दिनदेखि सम्पर्कविहीन भएका दाजुको अवस्था अझै पत्ता नलाग्दा निराश भएको बताए।

“सर्बियाको प्रहरी नियन्त्रणमा वा अस्पतालमा उपचाररत हुन सक्ने अनुमान छ,” उनले भने, “तर अवस्था पुष्टि नहुँदा हामी अन्योलमा परेका छौँ।”