

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले टि–२० विश्वकपमा भारतविरुद्धको खेल नखेल्ने पाकिस्तानको निर्णयप्रति आपत्ति जनाएको छ।
पाकिस्तान सरकारले आइसीसी पुरुष टि–२० विश्वकप २०२६ मा राष्ट्रिय टिमलाई सहभागी हुन अनुमति दिए पनि फेब्रुअरी १५ मा तय भारतविरुद्धको खेलमा मैदानमा नउत्रने निर्णय गरेको थियो। यसलाई ‘छनोटमूलक सहभागिता’को संज्ञा दिँदै आइसीसीले यस्तो निर्णय विश्वव्यापी खेलकुद प्रतियोगिताको आधारभूत सिद्धान्तसँग मेल नखाने बताएको छ।
आइसीसीको आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘आइसीसीले पाकिस्तान सरकारको निर्णयलाई ध्यानमा राखेको छ, जसअनुसार राष्ट्रिय टिमलाई टि–२० विश्वकप २०२६ मा छनोटमूलक ढंगले सहभागी गराउने निर्देशन दिइएको छ।’
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बाट औपचारिक जानकारी आइनसके पनि यस्तो निर्णयले योग्य टिमहरू निर्धारित तालिकाअनुसार समान आधारमा प्रतिस्पर्धा गर्ने विश्वकपको मूल भावनालाई कमजोर बनाउने आइसीसीको ठहर छ।
‘आइसीसीका प्रतियोगिताहरू खेलको अखण्डता, प्रतिस्पर्धात्मकता, निरन्तरता र निष्पक्षतामा आधारित हुन्छन्। चयनात्मक सहभागिताले प्रतियोगिताको भावना र पवित्रतालाई हानि पुर्याउँछ,’ विज्ञप्तिमा उल्लेख छ।
सरकारहरूको राष्ट्रिय नीतिप्रति सम्मान जनाउँदै आइसीसीले यो निर्णय विश्व क्रिकेट र विश्वभरका लाखौँ प्रशंसकहरू, पाकिस्तानका समर्थकसमेत, को हितमा नरहेको जनाएको छ। यसले पाकिस्तान क्रिकेटमा दीर्घकालीन असर पार्न सक्ने र समग्र विश्व क्रिकेट इकोसिस्टम प्रभावित हुने चेतावनीसमेत दिइएको छ।
आइसीसीले पाकिस्तान सरकारलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ। साथै, ‘आइसीसी पुरुष टि–२० विश्वकप सफलतापूर्वक सञ्चालन गर्नु आइसीसीको प्राथमिकता हो, जसमा सबै सदस्य राष्ट्रहरूको साझा जिम्मेवारी छ,’ भन्दै पीसीबीसँग मिलेर सबै सरोकारवालाको हित सुरक्षित हुने सहमतिमा समाधान खोजिने अपेक्षा व्यक्त गरिएको छ।