भारतमा निपा भाइरसको जोखिम बढेपछि खुल्ला सीमा क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भारतमा निपा भाइरसको जोखिम बढेपछि खुल्ला सीमा क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सिरहा । भारतका केही प्रान्तमा घातक निपा भाइरसको संक्रमण पुष्टि भई संक्रमण फैलँदो क्रममा रहेकाले खुल्ला सीमा क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य कार्यालय सिरहाले स्थानीय तहहरूलाई पत्राचार गर्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो।

स्वास्थ्य कार्यालयका अनुसार संक्रमण देखिएका क्षेत्रको भ्रमण गरेर फर्किएका व्यक्तिहरूलाई निश्चित अवधिसम्म क्वारेन्टाइनमा बस्न सुझाव दिइएको छ । साथै, समुदायमा आधारित रोग निर्देशिका २०८२ बमोजिम उनीहरूको निगरानी गर्न जनस्वास्थ्य प्रशासक कृष्णदेव यादवले आग्रह गरेका छन्।

यद्यपि भारतीय अधिकारीहरूले निपा भाइरसको प्रकोप नियन्त्रणमा आएको घोषणा गरे पनि यसको सम्भावित जोखिम अझै कायम रहेको जनाइएको छ । त्यसैले सीमावर्ती क्षेत्रमा स्वास्थ्य सतर्कता नछोड्न र शंकास्पद लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ।