

काठमाडौं । अर्थ मन्त्रालयले निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ । मन्त्रालयको तथ्यांकअनुसार यसमध्ये हालसम्म ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको छ।
मन्त्रालयका अनुसार २१ फागुनमा तय गरिएको निर्वाचनका लागि निर्वाचन आयोगलाई १८ कात्तिकमा ४ अर्ब ९६ करोड रुपैयाँको स्रोत सहमति दिइएको थियो । त्यसपछि २० पुसमा थप १ अर्ब ७७ करोड ९० हजार रुपैयाँको स्रोत सहमति प्रदान गरिएको छ । यससँगै निर्वाचन आयोगका लागि कुल ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँ बराबरको स्रोत सहमति भएको छ।
निर्वाचन आयोगलाई १२ मंसिरमा ४ करोड ३१ लाख रुपैयाँ निकासा गरिएको थियो भने हालसम्म आयोगलाई मात्र ६ अर्ब ३१ करोड रुपैयाँ निकासा भइसकेको आयोगको तथ्यांकमा उल्लेख छ।
निर्वाचन प्रयोजनका लागि सुरक्षा निकायलाई समेत उल्लेख्य बजेट स्रोत सहमति दिइएको छ । राष्ट्रिय अनुसन्धान विभागका लागि १३ कात्तिकमा २ करोड ८० लाख रुपैयाँको स्रोत सहमति दिइएको थियो । यस्तै, २८ मंसिरमा नेपाली सेनालाई उपकरण खरिदका लागि ४ करोड ४२ लाख ५० हजार रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको छ।
अर्थ मन्त्रालयका अनुसार गृह मन्त्रालय तथा मातहतका निकायलाई १० अर्ब ३९ करोड रुपैयाँ बराबरको स्रोत सहमति दिइएको छ । साथै, २० पुसमा नेपाली सेनालाई थप १ अर्ब ९४ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरिएको छ।