चौतर्फी आलोचनापछि पछि हटे वामदेव

चौतर्फी आलोचनापछि पछि हटे वामदेव

काठमाडौं, २६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतम काठमाडौं ७ बाट चुनाव नलड्ने भएका छन् । चौतर्फी आलोचनापछि पूर्वउपप्रधानमन्त्री समेत रहेका नेकपाका नेता गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका हुन् ।

आफ्नै पार्टीभित्रकै तीब्र विरोध र क्षेत्रका स्थानीय नेता एवम् सर्वसाधारणबाट समेत व्यापक आलोचना र सामाजिक सञ्जालमा आएको प्रतिक्रियापछि गौतम तत्कालका लागि पछि हटेका हुन् । उनले हिजो स्थानीय नेताहरुलाई अब आफू तत्कालका लागि सांसद बन्ने योजनाबाट पछि हटेको सन्देश पठाएका छन् ।

स्थानीय जनमत र पार्टीभित्रको अवस्था लगायतको कारण देखाउँदै उनले तत्कालका लागि सांसद बन्ने दिशामा नलाग्ने उल्लेख गरेको स्थानीय नेताले जानकारी दिए । गौतमलाई सांसद बनाउन भन्दै काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले पद छाड्न तयार रहेको पत्र सचिवालयमा बुझाएका थिए । त्यसैगरी सांसद मानन्धरले सार्वजनिक रुपमै राजीनामा दिने घोषणा गरेपछि उपनिर्वाचनको चर्चा ह्वात्तै बढेको थियो ।

त्यसैगरी अाजका दैनिक पत्रपत्रिकाहरुले पनि याे खबरलाई प्राथमिकताका साथ पहिलाे पेजमा प्रकाशित गरेका छन् । कान्तिपुरले पछि हटे गौतम शिर्षकमा पहिलो पृष्ठमा सामाचार छापेको छ। चुनाव लड्न हच्किए गौतम शिर्षकमा नागरिकले पहिलो पृष्ठमा समाचार छापेको छ । काठमाडौं ७ बाट वामदेव नलड्ने शिर्षकमा नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापेको छ। हच्किए गौतमशिर्षका अन्नपूर्ण पोस्टले पहिलो पृष्ठमा समाचार छापेको छ । वामदेव फेरी ‘ब्याक’ शिर्षकमा राजधानी दैनिकले पृष्ठ ३ मा समाचार छापेको छ ।